Friday, January 25, 2008

उखान नबनोस् साइबर सिटी

काभ्रेको बनेपामा साइबर सिटि बनाउने योजना या एउटा सपना । यो योजना या सपना संकटमा परेको छ । यहाँका बासिन्दालाई त के स्नातक गरिसकेका अधिकांशलाई समेत साइबर के हो, कम्प्युटर के हो ? र सूचना प्रविधि के हो ? भन्ने विषयमा धेरथोर ज्ञान समेत छ्रैन । आइटी पार्कको निर्माण हुँदैमा र केही व्यक्तिहरुले साइबरप्रति इच्छा व्यक्त गर्दैमा वा आशावादी हुँदैमा बनेपा साइबर सिटि बन्न सक्दैन । जनताका दैनिक आवश्यकताको रुपमा रहेको खानेपानी तथा सरसफाइको समस्या, साथै नगरपालिका प्रवेश गर्ने सडक समेत मर्मत हुन नसकेको वर्तमान अवस्थामा साइबर सिटिको अवधारणालाई एउटा सुन्दर सपनाको रुपमा मात्र लिन सकिन्छ ।
'सामुदायिक नेटवर्क' को रुपमा लिन सकिने साइबर सिटिमा सञ्चार तथा सूचना आदानप्रदानको निमित्त उच्च गतिको नेटवर्क माध्यमको साथमा अधिकतम सुविधा हुनुपर्दछ । जबकी बनेपामा अहिले इन्टरनेटको माध्यमको लागि 'कमजोर' केवल लाइन र टेलिफोन लाइन बाहेक अन्य बिकल्प नै छैनन् ।
अत्यन्त न्यून संख्यामा ठूला लगानी भएका सूचना प्रविधिसम्बन्धी कम्पनी, संघ-संस्था र आईटी पार्क हुँदैमा या भित्र्याईंदैमा त्यो शहरलाई साइबर सिटि भन्न मिल्दैन ।
साइबर सिटि त्यो हो जुन शहरका प्रत्येक नागरिक विविध विशेषता सहित उच्च गतिको नेटवर्कबाट संसारभरको सूचना नेटवर्कसँग आवद्ध हुन सक्छन् र सोही नेटवर्कमार्फत् दैनिक काम, खबर र सूचनाको आदानप्रदान, व्यवसायका साथै अध्ययन पनि गर्न सक्छन् । अर्को अर्थमा साइबर सिटिलाई 'सामुदायिक नेर्टवर्क'को रुपमा लिन सकिन्छ ।
ताइवानको ताइपेइ, अमेरिकाको भर्जेनिया, ब्ल्याक्र्सवर्ग, चिनको हङकङ, नर्वेको मोडालेन, सिंगापुरको साइबर सिटि आदिलाई सम्पूर्ण सुविधायुक्त साइबर सिटिको रुपमा लिन सकिन्छ । जहाँ साइबर सिटिमा हुनुपर्ने अधिकतम् सुविधाहरु उपलब्ध छन् ।

साइबर सिटिमा हुनुपर्ने विशेषताहरुः
- आधुनिक कम्प्युटर, मल्टिमिडिया, उच्चस्तर र उच्चगतिको इन्टरनेट कनेक्शन र नेटवर्क तथा दूरसञ्चारका उच्च प्रविधिहरु प्रयोग गरी साइबरसम्बन्धी विद्वान तथा इन्जिनियरहरुको समूह समावेश भएका केही भवनहरु, जसलाई साइबर भवन भन्न सकियोस् तथा आईटी पार्क ।
- लोकल एरिया नेटवर्क तथा भिडियो कन्फ्रेन्स सम्बन्धी सुविधायुक्त व्यवस्था भएको सामुदायिक नेटवर्क ।
- संसारभर साइबर सिटिबाट उत्पादन गरिएका सामग्री तथा सेवाहरु बिक्री वितरण गर्न सकिने वातावरण तथा यसका लागि उपर्युक्त व्यवसायिक तथा प्रशासनिक कार्यालयहरु ।
- अधिकतम नागरिकले संसारभरको सूचना आफ्नै कम्प्युटर, मोबाइल वा पिडिए मार्फत् 'एक्सेस' गर्न सकिने ।
- विद्यालय, पुस्तकालय, अस्पताल तथा निजी तथा सरकारी संघसंस्थाहरु 'सामुदायिक नेटवर्क' मा आवद्ध हुनुपर्छ र जोसुकैले पनि चाहेको बेलामा चाहेको जानकारी आफ्नै कम्प्युटर, मोबाइल वा पिडिए मार्फत् लिन सकिने ।
- सरकारी कामहरु (जस्तैः जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता तथा सरकारी कार्यालयमा दिइने निवेदनहरु, सूचना तथा परिणामहरु) आफ्नै कम्प्युटर, मोबाइल वा 'एक्सेस' गर्न सकिने ।
- घरबाटै एकेडेमिक शिक्षा तथा तालिमहरु 'अनलाइन' लिन सकिने वातावरण ।
- व्यवसायिक, सामुदायिक तथा सरकारी कामहरु सजिलै अनलाइन एक्सेसमार्फ् गर्न सकिने नेर्टवर्क ।
- साना पसलदेखि ठूला-ठूला व्यवसायसम्म क्रेडिट कार्ड प्रयोगको निमित्त उपर्युक्त वातावरण ।

साइबर सिटिबाट हुनुपर्ने न्यूनतम काम तथा सेवाहरुः
- सफ्टवयर उत्पादन र विकास
- एनिमेशन तथा मल्टिमिडियासँग सम्बन्धीत कार्यहरुः जस्तैः फिल्म, एड्भरटाइजिङ तथा कार्टुनसम्बन्धी कार्यहरु
- हार्डवयरको डिजाइन तथा उत्पादन र विकास
- सूचना तथा सञ्चारसम्बन्धी योजना, प्रविधिहरुको विकास तथा सेवाहरु सञ्चालन
- सूचना प्रविधिसम्बन्धी अनुसन्धान
- अडियो, भिजुअल तथा भिडियो कन्फ्रेन्सयुक्त शिक्षा तथा तालिम
- भिडियो कन्फ्रेन्सयुक्त सभा सम्मेलनहरु
- इन्टरनेट सर्भरहरु तथा इन्टरनेटसँग सम्बन्धीत सेवाहरु
- सूचनाको संकलन, भण्डारण र ट्रान्समिसन
- उत्पादन भएका सामग्री तथा सेवाहरु इन्टरनेट मार्फत संसारभर बिक्री वितरण गर्ने
- नेटवर्क मार्फत घरबाटै सरकारी कामहरु
- नेटवर्क मार्फत् नै अन्य व्यवसाय तथा सेवाहरु, जस्तैः खेलकुद, मनोरञ्जन, रेष्टुरेन्ट, अस्पताल, म्यारिज ब्यूरो आदिको सञ्चालन ।

वर्तमान अवस्थामा बनेपा 'शहर'मा साइबर सिटिमा हुनुपर्ने गुणहरु त छैनन् नै, साइबर सिटिको अवधारणा ल्याइएको मात्र छ । यो अवधारणा वास्तविकतामा परिणत हुन नसक्नु या ढिलाइ हुनुमा निम्न प्रमुख कारणहरु रहेका छन्:
- प्रस्तावित साइबर सिटिका अधिकांश जनसमुदायलाई कम्प्युटर र सूचना प्रविधि तथा सूचना प्रविधि पार्कको बारेमा केही पनि जानकारी नहुनु
- सूचना आदानप्रदानको लागि उपर्युक्त प्रविधिहरुका साथै उपर्युक्त माध्यम र व्यवस्था नहुनु
- साइबर र सूचना प्रविधिसम्बन्धी राम्रो ज्ञान भएका बौद्विक वर्गहरुको कमी रहनु
- वर्तमान प्रविधि र भविष्यमा आउनसक्ने प्रविधिहरुको बारेमा विश्लेषण, मूल्याङ्कन तथा सोच गर्न सक्ने व्यक्तिहरुको कमी
- बलियो र राम्रो प्राविधिक शिक्षा भएका इन्जिनियर तथा व्यक्तिहरुको कमी
- साइबर सिटिको लागि कमजोर नेतृत्वपक्ष
- सरकारी योजना नै स्पष्ट नहुनु तथा सचिव तथा मन्त्रीहरुमा साइबरसम्बन्धी ज्ञान तथा विशेषज्ञले दिएका सल्लाह ग्रहण गर्न नसक्नु
- प्राविधिक शिक्षा लिएका व्यक्तिहरुमा अंग्रेजी भाषाको राम्रो ज्ञान नहुनु
- केही गर्न खोज्ने व्यवसायी तथा व्यक्तिहरुको निमित्त स्पष्ट तथा उपर्युक्त राष्ट्रिय नीति र साइबर कानून नहुनु
- सूचना प्रविधिसम्बन्धी प्राविधिक शिक्षा प्रदान गरिरहेका विश्वविद्यालय तथा क्याम्पसहरुले यससम्बन्धी प्रयोगशाला तथा राम्रो ज्ञान र सिप भएका शिक्षकहरु उपलब्ध गराउन नसक्नु
- साइबर सिटिका लागि अवधारणा ल्याउने, योजना बनाउने नेतृत्व पक्षमा जातिगत धारणाको विकास हुनु
बनेपा साइबर सिटि बन्नसक्ने राम्रो पक्षः भनेको यो शहर राजधानीको नजिकै हुनु र यहाँका केही नागरिक तथा पर्ूवजनप्रतिनिधिको सूचना प्रविधिसम्बन्धी काम गर्ने इच्छा हुनु मात्र हो ।
यत्ति कै भरमा साइबर सिटि त बन्न सक्दैन तर सम्बन्धित निकायले निम्न कुराहरुमा ध्यान दिएर यसको समाधान तुरुन्त गरेमा मात्र बनेपालाई साइबर सिटि बनाउने अवधारणा ल्याउन सकिन्छः
- प्रत्येक घरका कम्तीमा एकजना नागरिकलाई कम्प्युटरसम्बन्धी तालिम दिने व्यवस्था गरिनुपर्ने
- प्रत्येक नागरिकलाई सूचना प्रविधि तथा कम्प्युटरको बारेमा जनचेतना जगाउने कार्यक्रमहरु ल्याइनुपर्ने
- प्रत्येक घरमा कम्तीमा एक सेट कम्प्युटर हुनसक्ने नीति बनाइनुपर्ने
- मोबाइलमा पनि इन्टरनेट र इमेलको व्यवस्था गर्नुपर्ने ।
- आईटी पार्क र साइबर सिटि के हो, कस्ता व्यक्ति तथा कम्पनी समावेश हुन सक्छन् त्यसको बारेमा पूर्ण वेबसाइट बनाइनुपर्ने र जानकारीमा ल्याइनुपर्ने
- सम्बन्धित विभागले आइटीपार्क र सूचना प्रविधिको शहरको निर्माणको बारेमा 'सिरियस' भएर सोच्नुपर्ने
- भिस्याटको व्यवस्थाका साथै कम्युनिकेशनको लाइन तथा इन्टरनेट लाइन उच्च गुणस्तर तथा उच्च गतिको बनाइनुपर्ने
- सूचना प्रविधिका बारेमा चासो राख्ने व्यक्ति, कम्पनी तथा संस्थालाई अहिलेदेखि नै 'सपोर्ट' गरिनुपर्ने
- विद्यालयमा अनिवार्य रुपमा कम्प्युटर र सूचना प्रविधि विषय समावेश गराइनुपर्ने
- योग्य एवम् यससम्बन्धी विशेषज्ञ तथा इन्जिनियर र यससम्बन्धी व्यवसायीहरु सहभागि भएका सूचना प्रविधिसम्बन्धी संस्थाहरुको निर्माण गरी यसको विकासको निमित्त विभिन्न योजनाहरु ल्याइनुपर्ने
यदि सूचना प्रविधि शहर बनाउने न्यूनतम पूर्वाधारहरुको सम्बन्धीत निकायले अब पनि राम्रोसँग नसोच्ने हो भने बनेपा सूचना प्रविधि शहर बन्ने एउटा उखान मात्र बन्नसक्छ ।